श्रम संस्कृति पार्टीबाट दावा फेन्चु लामाको उम्मेदवारी घोषणा

218

नुवाकोट — श्रम संस्कृति पार्टी नुवाकोट जिल्ला सचिव दावा फेन्चु लामाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेका छन्। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा उनले श्रम संस्कृति पार्टीको चुनाव चिन्ह ‘दुई हातको अञ्जुलीमा माटो’ लिएर चुनावी मैदानमा उत्रिने घोषणा गरेका हुन्।

नुवाकोटको ककनी गाउँपालिका–४, कटुन्जे स्थायी घर भएका लामा यसअघि कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको बताउँदै आएका छन्। देशको वर्तमान राजनीतिक अवस्था, जनतामा बढ्दो निराशा र विकासप्रति देखिएको उदासीनताका कारण आफू राजनीतिमा होमिन बाध्य भएको उनले बताएका छन्।

 

लामाका अनुसार नुवाकोट जिल्ला काठमाडौंसँग जोडिएको जिल्ला भए पनि विकास, राजनीतिक चेतना र आर्थिक अवस्थाका हिसाबले कहिल्यै पनि अपेक्षित प्रगति गर्न सकेन। “राजधानीसँग जोडिएको जिल्ला भएर पनि नुवाकोट सधैं पछाडि पारिएको छ,” उनले भने, “यस अवस्थालाई अन्त्य गर्न परम्परागत दलहरू असफल भइसकेका छन्।”

उनले नुवाकोट र सिंगो नेपालका लागि अब विकल्पहरूको पनि विकल्प श्रम संस्कृति पार्टी मात्र रहेको दाबी गरे। श्रम, इमान्दारिता, आत्मनिर्भरता र सुशासनलाई केन्द्रमा राखेको श्रम संस्कृति पार्टीको विचार, सिद्धान्त र भिजनले जनताको भरोसा जित्न सक्ने उनको भनाइ छ।

विशेषगरी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्व, कार्यशैली र श्रम संस्कृति अभियानबाट आफू प्रभावित भएको बताउँदै लामा भन्छन्, “हर्क साम्पाङ र श्रम संस्कृति पार्टीले देखाएको बाटो नै देश परिवर्तनको वास्तविक आधार हो।”

आफू देशप्रेमी र गाउँप्रेमी व्यक्ति भएको उल्लेख गर्दै उनले नुवाकोटको समग्र विकास, रोजगारी सिर्जना, उत्पादनमुखी अर्थतन्त्र र युवालाई स्वदेशमै भविष्य देखाउने लक्ष्यसहित चुनावमा जाने बताए।

“राजनीति पदका लागि होइन, परिवर्तनका लागि हो,” लामा भन्छन्, “अब नुवाकोट र नेपालको भविष्य श्रम गर्ने हातमै सुम्पिनुपर्ने बेला आएको छ।”

दावा फेन्चु लामा

Leave A Reply

Your email address will not be published.