तारकेश्वर नगरपालिका मा फोहोर आतंक,फोहोर फ्याँक्ने नगर प्रहरीको नियन्त्रण

216

तारकेश्वर-

तारकेश्वर नगरपालिका क्षेत्रमा जथाभावी फोहोर फ्याँक्ने गतिविधि नियन्त्रण गर्न नगर प्रहरीले सक्रिय अनुगमन तथा कारबाहीलाई तीव्र बनाएको छ। यसै क्रममा नगर प्रहरीको टोलीसँगै हाम्रो टोली समेत स्थलगत अवलोकनमा सहभागी भएको थियो।

तारकेश्वर–६ स्थित नठपाली स्कुल पछाडिको खोला करिडोरमा ठूलो परिमाणमा फोहोर फालिएको भेटिएको छ। खोलानाला जस्ता सार्वजनिक स्थानमा यसरी फोहोर थुपारिँदा वातावरण प्रदूषित हुनुका साथै स्थानीयवासीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने देखिन्छ। दुर्गन्ध, पानी प्रदूषण तथा संक्रामक रोग फैलिने जोखिम समेत बढेको पाइएको छ।

स्थलगत अनुगमनका क्रममा सञ्चालन बन्द भइसकेको सिसा फ्याक्ट्री क्षेत्रबाट सिसाजन्य फोहोर बाहिर फ्याँकिएको भेटिएको थियो। सो स्थानमा नयाँ सञ्चालनमा आएको काठ गोदामले उक्त फोहोर व्यवस्थापन नगरी बाहिर फाल्दै आएको पुष्टि भएपछि संलग्न व्यक्तिलाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, नजिकै निर्माणाधीन घरहरूबाट निस्किएको निर्माणजन्य फोहोर समेत खोला किनारमै फालिएको पाइएपछि सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याइएको छ।

अझै गम्भीर रूपमा, खोलाको छेउमै त्रिपाल प्रयोग गरी बनाइएको अस्थायी शौचालयबाट निस्कने फोहोर सिधै खोलामा मिसाइएको अवस्था समेत भेटिएको छ। यसले जल प्रदूषणलाई झनै बढाउने र मानव स्वास्थ्यमा गम्भीर असर पार्ने देखिन्छ। उक्त कार्यमा संलग्न व्यक्ति भने हालसम्म सम्पर्कमा आएका छैनन्।

नगर प्रहरी प्रमुख निरीक्षक टिकाराम श्रेष्ठ तथा सहायक निरीक्षक हरि ढकाल नेतृत्वको टोलीले यस्ता गतिविधि रोक्न सचेतनामूलक अभियानसँगै कडाइका साथ कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

यस घटनाले स्पष्ट के देखाउँछ भने फोहोर व्यवस्थापनमा नागरिक स्वयंको जिम्मेवारी अत्यन्त महत्वपूर्ण छ। जथाभावी फोहोर फाल्ने प्रवृत्ति नरोकेसम्म स्वच्छ वातावरणको कल्पना गर्न सकिँदैन।

Leave A Reply

Your email address will not be published.