सरिता तिवारी हत्या प्रकरण: पतिलाई साथी बनाएर पत्नीसँग प्रेम, हल्ला चलेपछि हत्या

317

काठमाडौँ – तारकेश्वर नगरपालिका–३ की ४५ वर्षीया सरिता तिवारीको हत्या विवाहेत्तर सम्बन्धका कारण भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ। ११ दिनदेखि हराइरहेकी तिवारीको शव टोखा नगरपालिका–१ स्थित शिवपुरी जंगलमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौँ प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार, घटनामा संलग्न भएको आरोपमा टोखा नगरपालिका–२ का अनिल डङ्गोललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। डङ्गोलले मृतकसँग एक वर्षदेखि घनिष्ठ सम्बन्ध रहेको स्वीकार गरेको प्रहरीको भनाइ छ।

वैशाख १२ गतेदेखि हराएकी सरिता तिवारी वैशाख ११ गते दिउँसो “बजार जान्छु” भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि सम्पर्कविहीन बनेकी उनीबारे परिवारले १२ गते नै खोजतलासका लागि प्रहरीमा उजुरी दिएको थियो।

खोजीका क्रममा मंगलबार दिउँसो शिवपुरी जंगलमा खनिएको स्थानबाट उनको शव उत्खनन गरिएको हो। उनी जितपुर फेदीकी स्थायी बासिन्दा हुन्।

प्रहरी स्रोतका अनुसार, सरिताका पति शंकर तिवारी र आरोपी अनिल डङ्गोलबीच लामो समयदेखि मित्रता थियो। सोही सम्बन्धका क्रममा डङ्गोल र सरिताबीच पनि भेटघाट र सम्बन्ध बढेको बताइएको छ।

परिवारका अनुसार, डङ्गोलसँगको सम्बन्धबारे केही समयअघि मात्र शंकर तिवारीले जानकारी पाएका थिए। त्यसपछि परिवारभित्र विवाद र तनाव बढेको थियो।

त्यस्तै, सरिता निर्वाचनका क्रममा प्रहरी सेवामा समेत संलग्न भएकी थिइन्। सो अवधिमा उनी लामो समय घरबाहिर रहने र कहिलेकाहीँ डङ्गोलसँग देखिने गरेको भन्दै परिवारमा शंका बढेको बताइएको छ।

प्रहरीका अनुसार, घटनाअघि पनि सरिता र डङ्गोल शिवपुरी क्षेत्रमै भेट हुने गरेका थिए। घटनापछि वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको सूचनाका आधारमा डङ्गोललाई नियन्त्रणमा लिइएको र सोधपुछका क्रममा उनले घटनासम्बन्धी केही विवरण खुलाएको बताइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.