सिसडोल–बन्चरेडाँडा संकट: कुरा धेरै, समाधान शून्य” भन्दै जनआक्रोश चर्किँदै

184

काठमाडौं । सिसडोल र बन्चरेडाँडामा वर्षौँदेखि थुप्रिँदै आएको फोहोर व्यवस्थापनको समस्या अहिले चरम बिन्दुमा पुगेको छ।

स्थानीय बासिन्दा भन्छन्—“जसले जे कुरा गरे पनि अब केही हुनेवाला छैन।” निरन्तर दुर्गन्ध, प्रदूषण र राज्यको लापरबाहीका कारण जनजीवन कष्टकर मात्र नभई जोखिमपूर्ण बन्दै गएको उनीहरूको गुनासो छ।

स्थानीयका अनुसार फोहोरकै असरले गम्भीर रोगहरू बढिरहेका छन्। “एक घरमा एक–दुई जनासम्म क्यान्सरजस्ता रोगले थलिने अवस्था आएको छ,” भन्दै उनीहरूले आफ्नो पीडा व्यक्त गरेका छन्।

वर्षौँदेखि सहँदै आएको समस्या अब सीमा नाघेको भन्दै उनीहरू स्पष्ट रूपमा भन्छन्—“आजसम्म जे भयो भयो, अब कुनै पनि प्रलोभनमा नपरी स्थायी समाधान खोज्नुपर्छ।

यस अवस्थाको जिम्मेवारी स्थानीयले पुराना राजनीतिक नेतृत्वमाथि पनि लगाएका छन्। “बिगार्ने काम एमाले र माओवादीका पुराना नेताहरूले नै गरेका हुन्,” भन्ने आरोपसमेत खुलेर उठ्न थालेको छ।

अब आन्दोलनलाई थप सशक्त बनाउँदै विषय संसदसम्म लैजानुपर्ने आवाज चर्किँदै गएको छ। काकानी–१, २, ३, धादिङ धुनेबेशी–६ हुँदै तारकेश्वरसम्म फैलिएको समस्यालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउनुपर्ने माग गरिएको छ।

स्थानीयको स्पष्ट अडान छ— “या त फोहोररहित मानव बस्ती बनाइयोस्, या मानव रहित फोहोर—तर अब यथास्थिति स्वीकार्य छैन।” वर्षौँदेखि सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन नहुँदा आक्रोश झनै बढेको छ।

कागजमा मात्रै सीमित सम्झौताले व्यवहारमा कुनै सुधार नआएको उनीहरूको भनाइ छ।

फोहोरको दुर्गन्धका कारण अकालमै ज्यान गुमाएका परिवारहरूको पीडा अझै ताजा छ भने दीर्घरोगीहरूको अवस्था झनै गम्भीर बन्दै गएको छ। यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाहप्रति पनि स्थानीयले कडा प्रश्न उठाएका छन्।

काठमाडौं महानगरको मेयर हुँदा “सिसडोल–बन्चरे समस्या समाधान नभएसम्म माला लगाउँदिन” भन्ने प्रतिबद्धता व्यक्त गरेका उनी अहिले देशको नेतृत्वमा पुग्दा पनि समस्या यथावत् रहनु स्थानीयका लागि आश्चर्य र आक्रोशको विषय बनेको छ।

स्थानीयहरू भन्छन्— “त्यतिबेला केन्द्र सरकारले काम गर्न दिएन भनिन्थ्यो, अहिले आफैँ केन्द्रमा हुँदा किन सिसडोल–बन्चरे बिर्सनुभयो?

फोहोरमैला सङ्घर्ष समितिका अध्यक्ष श्रीराम ढुंगानाले सर्वदलीय बैठकमै चेतावनी दिँदै आन्दोलनलाई अझ कडा बनाउने घोषणा गरेका छन्।

“अब सहने अवस्था छैन, समाधान नभए कडा आन्दोलन गर्छौं,” उनको भनाइ छ।

यस्तै, स्थानीय बासिन्दा हरि लामाले पुराना नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै भने—“वर्षौँदेखि यही समस्या बोकेर बस्यौं, अब पनि राजनीति गर्ने हो भने स्थानीय आफैँ भिड्न बाध्य हुन्छ।

रास्वपा ककनीका सभापति रोजित तामाङले भने समस्या समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।

“अब दोषारोपण होइन, समाधान खोज्ने समय आएको छ,” उनले प्रतिबद्धता जनाए।

स्थानीयको साझा आवाज एउटै छ— स्वच्छ वातावरणमा बाँच्ने अधिकार सुनिश्चित गरियोस्।

राजनीति होइन, अब व्यवहारिक समाधान चाहियोस्। अन्ततः सिसडोल–बन्चरेडाँडाको समस्या केवल फोहोर व्यवस्थापनको विषय मात्र नभई

मानव स्वास्थ्य, वातावरण र बाँच्ने अधिकारसँग जोडिएको गम्भीर राष्ट्रिय मुद्दा बनेको छ। समयमै दीर्घकालीन समाधान नआए आन्दोलन अझै चर्किने निश्चित देखिएको छ।

Leave A Reply

Your email address will not be published.