ककनीमा वडा कार्यालय भवन शिलान्यास: मेयर महर्जनको प्रतिबद्धता—“फोहोर समस्यामा ककनीसँगै उभिन्छु

ककनी, वैशाख ३१ —
ककनी गाउँपालिका वडा नं. १ मा निर्माण हुन लागेको नयाँ वडा कार्यालय भवनको शिलान्यास ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनद्वारा सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने उक्त भवनको शिलान्यास ललितपुर महानगरपालिकाका मेयर महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

वडा कार्यालय भवन निर्माणसँगै स्थानीय स्तरमा सेवा प्रवाहलाई अझ व्यवस्थित, छरितो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष पदम बहादुर बलामीको सभापतित्व रहेको थियो।
कार्यक्रममा ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ (सज्जन), उपाध्यक्ष मिथुमाया तामाङ, ललितपुर महानगरपालिकाका प्रशासकीय अधिकृत रेखा दा. श्रेष्ठ, प्रशासकीय निर्देशक देव गुरागाईं, ककनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा अधिकृत पेमा दोर्जे थोकर, विभिन्न शाखाका अधिकृत, कर्मचारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

शिलान्यास पश्चात् आयोजित सम्बोधनमा मेयर महर्जनले ललितपुर महानगरपालिकामा आफ्नो नेतृत्वमा सम्पन्न भएका विकास आयोजनाहरूको उदाहरण प्रस्तुत गर्दै दिगो विकासका लागि प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याउनु भयो। उहाँले सडक विस्तार, शहरी पूर्वाधार सुदृढीकरण, सम्पदा संरक्षण, फोहोर व्यवस्थापन सुधार तथा सेवा प्रवाहको आधुनिकी करण जस्ता क्षेत्रमा हासिल उपलब्धिहरू उल्लेख गर्नुभयो।
“हामीले ललितपुरमा गरेका कामहरू केवल योजना मात्र होइनन्, सफल कार्यान्वयनका उदाहरण हुन्,” उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रमपछि मेयर महर्जनले ककनी क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरूको स्थलगत अवलोकन गर्नुभएको थियो। सो क्रममा उहाँले ककनी हाइट, ककनी भ्यु टावर तथा स्ट्रबेरी स्ट्याचु लगायतका स्थानहरूको निरीक्षण गर्नुभयो।
अवलोकन पश्चात् उहाँले ककनीको प्राकृतिक सौन्दर्य र उच्च पर्यटन सम्भावनाको प्रशंसा गर्दै व्यवस्थित पूर्वाधार विकास र दीर्घकालीन योजना कार्यान्वयन मार्फत ककनीलाई राष्ट्रिय स्तरकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

यसै क्रममा मेयर महर्जनले ककनी गाउँपालिका कार्यालयमा स्थानीय जनप्रतिनिधिहरूसँग छलफल समेत गर्नुभएको थियो। छलफलका क्रममा उहाँले ककनी क्षेत्रले दीर्घकाल देखि भोग्दै आएको फोहोर व्यवस्थापन समस्या प्रति गम्भीर चासो व्यक्त गर्दै समाधानका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।

“ककनीवासीले भोगिरहेको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि म सधैं सहकार्य गर्न तयार छु,” उहाँले भन्नुभयो।
ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको वडा कार्यालय भवन निर्माणले दुई स्थानीय तहबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ। यस्ता पहलहरूले सेवा प्रवाह सुधार गर्नुका साथै दिगो विकासका आधारहरू निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
