खतरनाक भाइरसको महामारीबाट, ४८ जनाको मृत्यु, ३२१ संक्रमित

39

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र काङ्गो (डीआरसी) तथा युगान्डासहित पूर्वी अफ्रिकी मुलुकहरूमा इबोला भाइरसको नयाँ प्रकोप तीव्र रूपमा फैलिँदै गएपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिएको छ।

अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार हालसम्म ३२१ जनामा संक्रमण पुष्टि भइसकेको छ भने करिब १ हजार १०० भन्दा बढी संदिग्ध बिरामीहरू पहिचान गरिएका छन्।

सरकारी तथ्यांकअनुसार संक्रमण काङ्गोका तीन फरक–फरक प्रान्तमा फैलिसकेको छ र हालसम्म यस रोगका कारण ४८ जनाको मृत्यु भइसकेको छ। वैज्ञानिकहरूका अनुसार यो महामारी इबोलाको अत्यन्त खतरनाक मानिने ‘बुन्डिबुग्यो’ स्ट्रेनका कारण फैलिएको हो।

यस स्ट्रेनको सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेको यसविरुद्ध हालसम्म कुनै पनि स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध नहुनु हो। महामारीको गम्भीरतालाई ध्यानमा राख्दै ‘कोअलिसन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन्स (CEPI)’ ले खोप विकासलाई तीव्र बनाउन ६० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब ९० करोड नेपाली रुपैयाँ) बराबरको आपतकालीन आर्थिक सहयोग घोषणा गरेको छ।

यस पहलअन्तर्गत विभिन्न औषधि निर्माण कम्पनीहरूलाई द्रुत गतिमा खोप विकास गरी मानवमा परीक्षण (क्लिनिकल ट्रायल) सम्म पुर्‍याउने जिम्मेवारी दिइएको छ। खोप विकासको यस दौडमा अमेरिकी कम्पनी ‘मोडर्ना’ लाई प्रारम्भिक परीक्षण तथा उत्पादनका लागि ५० मिलियन डलर उपलब्ध गराइएको छ।

त्यस्तै, बेलायतको अक्सफोर्ड विश्वविद्यालय र भारतको ‘सिरम इन्स्टिच्युट अफ इन्डिया’ को संयुक्त परियोजनालाई ८.६ मिलियन डलर सहयोग प्रदान गरिएको छ भने ‘इन्टरनेसनल एड्स भ्याक्सिन इनिसिएटिभ’ लाई पनि अनुसन्धानका लागि आर्थिक सहयोग गरिएको छ।

हाल विकसित भइरहेको ‘ChAdOx1 Bundibugyo’ नामक खोपप्रति अन्तर्राष्ट्रिय समुदायले ठूलो आशा राखेको छ। यो खोप ‘भाइरल भेक्टर’ प्रविधिमा आधारित छ, जसको प्रयोग कोभिड–१९ महामारीका बेला अक्सफोर्ड–एस्ट्राजेनेका (भारतमा ‘कोभिशिल्ड’) खोप निर्माणमा गरिएको थियो।

सीईपीआईका प्रमुख रिचर्ड ह्याचेटका अनुसार वैज्ञानिक तथा उत्पादन क्षेत्रको तीव्र सक्रियताका कारण आगामी केही महिनाभित्रै उक्त खोप मानव परीक्षणका लागि उपलब्ध हुन सक्ने अनुमान गरिएको छ।

Leave A Reply

Your email address will not be published.