गाउँपालिका उपाध्यक्ष हत्या आरोपमा पक्राउ, एक वर्ष पुरानो घटनामा अनुसन्धान तीव्र

37

कैलाली – कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नाथलाई बिहीबार महेन्द्रनगरबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी हेमबहादुर शाहीले जानकारी दिँदै भने, “ज्यानसम्बन्धी मुद्दामा उहाँलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ। मुद्दा इलाका प्रहरी कार्यालय बेल्डाँडीबाट दर्ता भएको हो।”

गत वर्ष वैशाख ९ गते कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट रोड नजिकै मोटरसाइकलसहित जलेको अवस्थामा हरिकिशन रानाको शव फेला परेको थियो। घटनास्थल सडक किनारमा भएकाले यो दुर्घटना हो वा योजनाबद्ध हत्या भन्ने विषयमा प्रहरीले प्रारम्भदेखि नै अनुसन्धान गर्दै आएको थियो।

मृतककी पत्नी फिरियादेवीले उपाध्यक्ष नाथविरुद्ध योजनाबद्ध रूपमा धम्की दिएको, आर्थिक लेनदेनका नाममा दबाब सिर्जना गरेको तथा ज्यान मार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन्।

जाहेरीमा कृषि अनुदान दिलाउने बहानामा मृतकसँग ठूलो रकम असुल्ने प्रयास गरिएको र रकम नदिएपछि पटक–पटक ज्यान मार्ने धम्की दिइएको उल्लेख छ। सोही आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कमल रानाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

प्रहरी नियन्त्रणमा रहेकी नाथको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.