गृहमन्त्री आउँदै गर्दा सिरहामा चर्कियो तनाव, प्रहरीका सवारी घेराउ

46

सिरहा — गृहमन्त्रीको आगमनको पूर्वसन्ध्यामा सिरहाको गोलबजार पुनः तनावग्रस्त बनेको छ। गोली लागेर ज्यान गुमाएका किशोरको घरअगाडि स्थानीय बासिन्दा र सुरक्षा निकायबीच झडपजस्तो अवस्था सिर्जना भएको छ।

मृतक १५ वर्षीय गणेश यादवको घरअगाडि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला प्रशासन कार्यालय सिरहाका सवारीसाधनलाई आक्रोशित स्थानीयले घेराउ गरेका छन्। न्याय नपाएको आक्रोश र आक्रोशित भीडका कारण अवस्था झन् तनावपूर्ण बन्दै गएको छ।

गृहमन्त्री सुधन गुरुङ मृतक परिवारलाई भेट्न त्यही स्थानतर्फ जाँदै गर्दा सुरक्षा सतर्कता कडा पारिएको छ। तर स्थानीयले भने सरकारप्रति अविश्वास प्रकट गर्दै ‘देखावटी सहानुभूति होइन, वास्तविक न्याय चाहिन्छ’ भन्दै नाराबाजी गरिरहेका छन्।

सुनसरी घटनाको विरोधमा गोलबजारमा भएको प्रदर्शनका क्रममा बिहीबार औरही गाउँपालिका–२ तुलसियाहीका गणेश यादवलाई गोली लागेको थियो, जसको उपचारकै क्रममा मृत्यु भएको हो। यो घटनाले स्थानीय स्तरमा आक्रोश झन् बढाएको छ।

त्यसमाथि, आन्दोलनका क्रममा केही व्यक्तिलाई ‘साम्प्रदायिक सद्भाव खल्बल्याएको’ आरोपमा पक्राउ गरिएको भन्दै स्थानीयले कडा विरोध जनाएका छन्। उनीहरूले पक्राउ परेकाहरूको तत्काल रिहाइको माग गर्दै आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन्।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी तैनाथ गरिए पनि जनआक्रोश थामिन सकेको छैन। गृहमन्त्रीको भ्रमणले समाधान ल्याउने कि झन् तनाव बढाउने भन्ने प्रश्न अहिले सिरहामा सबैको चासोको विषय बनेको छ।

Leave A Reply

Your email address will not be published.