तारकेश्वरमा खेलकुद इतिहासको नयाँ अध्याय : पहिलो ‘तारकेश्वर कप–२०८३ छात्र फुटबल प्रतियोगिता सुरु

69

काठमाडौं, साउन १८ — खेलकुदमार्फत अनुशासित, सक्षम र प्रतिस्पर्धी पुस्ता निर्माण गर्ने उद्देश्यसहित तारकेश्वर नगरपालिकाले आफ्नो इतिहासमै पहिलो पटक ‘तारकेश्वर कप–२०८३’ छात्र फुटबल प्रतियोगिता सुरु गरेको छ।

तारकेश्वर–८ शेषमतीस्थित टिपटो स्पोर्ट्स हबमा आज आयोजित विशेष समारोहबीच नगर प्रमुख कृष्णहरि महर्जनले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो। साउन २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा तारकेश्वरका सामुदायिक तथा संस्थागत विद्यालयका ३२ टोली सहभागी रहेका छन्।

नगरपालिकाले पहिलो पटक आयोजना गरेको यस प्रतियोगितालाई विद्यालयस्तरबाटै फुटबल प्रतिभा पहिचान गर्ने तथा खेलकुद संस्कृतिको विकास गर्ने दीर्घकालीन अभियानको सुरुवातका रूपमा लिइएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्णहरि महर्जनले यस प्रतियोगिताले तारकेश्वरको खेलकुद विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित नगरपालिकाले खेलकुद क्षेत्रमा निरन्तर लगानी गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले प्रतियोगिताले सामुदायिक र संस्थागत विद्यालयबीचको सम्बन्ध अझ सुदृढ बनाउने र विद्यार्थीहरूमा सहयोग, सद्भाव तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले खेलकुदमा गरिएको लगानीका कारण तारकेश्वरतर्फ विभिन्न खेलका प्रतिभा खोज्न ध्यान केन्द्रित हुन थालेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा नगरलाई देशकै उत्कृष्ट स्थानीय तह बनाउने लक्ष्यका साथ योजनाबद्ध रूपमा काम भइरहेको जानकारी दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले खेलकुदमार्फत तारकेश्वरलाई राष्ट्रिय स्तरमा छुट्टै पहिचान दिलाउने विश्वास व्यक्त गर्दै सहभागी विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार र खेलभावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो। उहाँले जित वा हारभन्दा अनुशासन, नियमको पालना र उत्कृष्ट खेल प्रदर्शन नै सबैभन्दा ठूलो उपलब्धि हुने धारणा राख्नुभयो।

नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष राधाकृष्ण खड्गीले काठमाडौं जिल्लामै खेलकुद क्षेत्रमा तारकेश्वर अग्रणी स्थानीय तहका रूपमा स्थापित हुँदै गएको बताउनुभयो। शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकीले विद्यालय तहबाटै खेलकुद संस्कृतिको विकास गर्न यस्ता प्रतियोगिताको महत्वपूर्ण योगदान रहने धारणा व्यक्त गर्नुभयो।

उद्घाटन समारोहमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, प्रशिक्षक तथा सहभागी खेलाडीहरूले संयुक्त रूपमा बेलुन उडाएर प्रतियोगिताको सुरुवात गरेका थिए। कार्यक्रम खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्कीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा वडा नं. ११ का अध्यक्ष कवीराज बस्नेत, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

मेयर कपदेखि राष्ट्रपति रनिङ शिल्डसम्म ऐतिहासिक सफलता हासिल गरिसकेको तारकेश्वरले अब ‘तारकेश्वर कप’मार्फत विद्यालय फुटबलको नयाँ युग सुरु गरेको छ। नगरपालिकाले यस प्रतियोगितालाई वार्षिक रूपमा निरन्तर सञ्चालन गर्दै स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

नगर प्रमुख कृष्णहरि महर्जनको नेतृत्वमा तारकेश्वरमा खेलकुद क्षेत्रले उल्लेखनीय फड्को मारेको छ। उहाँकै पहलमा मेयर कप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको थियो भने तारकेश्वरले पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाएको थियो। उल्लेखनीय रूपमा, काठमाडौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो सहभागितामै दोस्रो स्थान हासिल गरेको तारकेश्वरले त्यसपछि लगातार तीन पटक उपाधि जित्दै शिल्ड स्थायी रूपमा आफ्नो कब्जामा पारेर नयाँ इतिहास रचेको छ।

यसै सफल यात्राको निरन्तरताका रूपमा पहिलो पटक ‘तारकेश्वर कप–२०८३’ आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.