तारकेश्वरमा “दि अनकाउन्टेड यूथ” गठन : ओझेलमा परेका युवालाई मुख्यधारमा ल्याउने अभियान सुरु
काठमाडौँ, तारकेश्वर — समाज विकास, युवा सशक्तिकरण तथा समावेशी चेतनाको विस्तार गर्ने उद्देश्यसहित तारकेश्वर क्षेत्रमा “दि अनकाउन्टेड यूथ (अगणित युवा)” नामक नयाँ युवा समूह औपचारिक रूपमा गठन गरिएको छ।
“अगणित युवा” अवधारणाले समाजमा निरन्तर योगदान दिँदै आए पनि पहिचानबाट वञ्चित, अवसर नपाएका तथा ओझेलमा परेका युवाहरूलाई समेट्ने लक्ष्य लिएको छ।
विभिन्न पेशा तथा विधामा दक्षता हासिल गरेका युवाहरूको सक्रिय सहभागितामा स्थापित उक्त समूहले समुदायस्तरमै दीर्घकालीन र सकारात्मक परिवर्तन ल्याउने लक्ष्य अघि सारेको छ। समूहको नेतृत्व युवा अभियन्ता नील विक्रम थापा ले सम्हाल्नुभएको छ।

यस समूहमा चिकित्सक, शैक्षिक परामर्शदाता, संरचनागत प्राविधिक, सूचना प्रविधि (आईटी) विज्ञ तथा इन्जिनियरलगायत विभिन्न क्षेत्रका पेशेवरहरूको संलग्नता रहेको छ, जसले संस्थालाई बहुआयामिक क्षमतायुक्त बनाएको छ।
समूहले विशेषगरी युवा तथा महिला सशक्तिकरण, करियर परामर्श, तथा ज्येष्ठ नागरिकको सम्मान र हेरचाह जस्ता विषयमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
त्यसैगरी, समुदायको आवश्यकता अनुसार स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, महिला शिक्षा प्रवर्द्धन, वातावरण संरक्षण तथा जनचेतनामूलक अभियानहरू सञ्चालन गरिने जानकारी दिइएको छ।
समूहका प्रतिनिधिहरूका अनुसार तारकेश्वर क्षेत्रका युवाहरूलाई सही दिशा, अवसर र प्लेटफर्म प्रदान गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्नु नै संस्थाको प्रमुख उद्देश्य रहेको छ।
साथै, समाजका विविध समस्याहरू समाधान गर्न युवाहरूलाई अग्रपङ्क्तिमा ल्याउँदै जिम्मेवार र सशक्त समुदाय निर्माण गर्ने लक्ष्य लिइएको छ।
स्थानीयवासीहरूले यस पहललाई सकारात्मक रूपमा लिँदै समुदायमा नयाँ ऊर्जा र सम्भावनाको सुरुवात भएको बताएका छन्।
“दि अनकाउन्टेड यूथ” को स्थापनाले तारकेश्वर क्षेत्रमा सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।