दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

सर्लाही । कविलासी नगरपालिका–३, मदनपुरस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ।
भारतीय नम्बर बीआर ३० वाई २८३५ को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएका स्थानीय ३३ वर्षीय तुलसी ठाकुरको साथबाट प्रहरीले एक थान सिक्सर पेस्तोल बरामद गरेको हो।
घाइते चालकको साथमा पेस्तोल रहेको स्थानीयले जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले हतियारसहित ठाकुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
ठाकुरको दायाँ र बायाँ हातमा सामान्य चोट लागेको छ। उनी प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।