फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द, सवारी आवागमन रोकिँदै

पुल बगेपछि सञ्चालनमा ल्याइएको सडक मर्मतका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने

52

धादिङ । गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगेपछि सञ्चालनमा ल्याइएको परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार वैकल्पिक सडकखण्ड आज पाँच घण्टा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सडकखण्डमा आवश्यक मर्मतसम्भार तथा सुधारको काम गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइनेछ।

वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले उक्त अवधिमा यातायात सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलाको पक्की पुल बगाएपछि परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ।

सडक बन्द रहने अवधिमा यात्रु तथा सवारीसाधनलाई धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार सडकखण्ड वा अन्य उपलब्ध वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ।

सडक मर्मतका क्रममा हुन सक्ने असुविधाप्रति प्रशासनले यात्रु तथा चालकलाई सचेत रहन आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.