ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा पूर्ण बन्द गर्ने सरकारको निर्णय

प्रवेश तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने सरकारको निर्णय सरकारले विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्नालाई लक्षित गरी सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले यस्तो कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने हुँदा बन्द गर्ने निर्णय गरेको बताए।
मन्त्रालयले २०८२ चैत १३ गते मन्त्रीस्तरबाट निर्णय गर्दै २०८३ साल वैशाख १ गतेदेखि यस्ता सबै कार्यक्रम बन्द गर्न निर्देशन दिएको जनाएको छ।
यस्ता कक्षले शिक्षामा समतामूलक पहुँचमा बाधा पुग्ने र अभिभावकमाथि अनावश्यक आर्थिक बोझ थप्ने देखिएको निष्कर्षका आधारमा उक्त निर्णय लिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रियाअघि सञ्चालन गरिँदै आएका ‘इन्ट्रान्स प्रिपरेशन’ कक्षा र ‘ब्रिज कोर्स’ नामका कार्यक्रम पूर्ण रूपमा रोक्न सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको उल्लेख छ।
साथै, मन्त्रालयले यस्ता कार्यक्रम सञ्चालन भए–नभएको अनुगमन गर्न र सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयहरूलाई पनि अनुरोध गरेको छ।