मध्यरातको अँध्यारोमा निभ्यो जीवन: सवारी दुर्घटनामा एक युवाको ज्यान गएको छ

120

नुवाकोट — ककनी गाउँपालिका–१,कागती गाउँमा मध्यरातमा भएको सवारी दुर्घटनामा एक युवाको ज्यान गएको छ।

मृतक २४ वर्षीय सुजन बलामी रहेको प्रहरीले जनाएको छ। गएराति घरबाहिर निस्किएका बलामीलाई सडकमा गुडिरहेको सवारी साधनले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो।

स्थानीयका अनुसार, घटना रातको समयमा भएको र सडकमा पर्याप्त प्रकाशको व्यवस्था नभएको कारण दुर्घटना भएको आशंका गरिएको छ। उक्त स्थानमा यसअघि पनि यस्तै प्रकृतिका दुर्घटनामा कम्तीमा दुई जनाले ज्यान गुमाइसकेको उनीहरूको भनाइ छ।

मृतक बलामीको पारिवारिक अवस्था कमजोर रहेको बताइएको छ। उनकी श्रीमती केही वर्षअघि छुट्टिएकी थिइन् भने उनीसँग ४–५ वर्षको एक नाबालक छोरा रहेका छन्। घटनापछि गाउँ शोकमग्न बनेको छ।

स्थानीय बासिन्दाले सो क्षेत्रलाई जोखिमपूर्ण भन्दै पटक–पटक सडक सुरक्षाको माग गरे पनि सम्बन्धित निकायले बेवास्ता गरेको गुनासो गरेका छन्। “हामीले धेरैपटक भनेका थियौं, तर सुनुवाइ भएन,” एक स्थानीयले भने।

यस घटनाले पुनः सडक सुरक्षा, प्रकाश व्यवस्था तथा सवारी गति नियन्त्रणबारे गम्भीर प्रश्न उठाएको छ। स्थानीयले यस्ता दुर्घटना दोहोरिन नदिन तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।

Leave A Reply

Your email address will not be published.