रास्वपाले सांसद आशिका तामाङसँग स्पष्टीकरण माग्ने तयारी

काठमाडौं। आशिका तामाङ ले सामाजिक सञ्जालमार्फत पार्टी गतिविधिबारे सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनीसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ।
पार्टी स्रोतका अनुसार, आफ्नै दलको आन्तरिक विषयलाई सार्वजनिक रूपमा उठाउँदै विभिन्न टिप्पणी गरेपछि उनलाई औपचारिक रूपमा स्पष्टीकरण सोध्ने तयारी गरिएको हो।
शनिबारदेखि जावलाखेल स्थित स्टाफ कलेजमा सुरू भएको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमबारे पनि तामाङले सामाजिक सञ्जालमा प्रश्न उठाएकी छन्। उनले कार्यक्रम सिंहदरबार बाहिर राखिएकोप्रति आपत्ति जनाउँदै अनावश्यक खर्चको विषय उठाएकी हुन्।
उनको भनाइमा, “सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम गर्न फाइभ स्टार होटल वा बाहिर हल भाडामा लिनु बाध्यता होइन। सिंहदरबारमै पर्याप्त सभाहल हुँदा बाहिर किन गर्ने? बाहिर हुने खर्चको लेखाजोखा कसले गर्ने?”
उनले सुरक्षाको नाममा महँगा स्थान रोजिएको भए त्यो एक दिनका लागि मात्र किन भन्ने प्रश्नसमेत उठाएकी छन्। साथै, परिवर्तन र मितव्ययिताको कुरा गर्ने पार्टी व्यवहारमा उस्तै देखिए नयाँ र पुराना दलबीच फरक के रह्यो भन्ने टिप्पणीसमेत गरेकी छन्।
यस विषयमा पार्टीभित्र छलफल भइरहेको र छिट्टै औपचारिक प्रक्रिया अघि बढ्ने बताइएको छ।