दिपक भट्ट संलग्न शेयर कारोबारमा गम्भीर अनियमितताः ऐन मिच्दै ‘इन्साइडर ट्रेडिङ’

अर्बौँको उधारो कारोबार (प्रतिवेदनसहित)

88

काठमाडौं — दिपक भट्ट संलग्न धितोपत्र कारोबारमा गम्भीर अनियमितता, ‘इन्साइडर ट्रेडिङ’ तथा अर्बौँ रुपैयाँ बराबरको उधारो कारोबार भएको तथ्य सार्वजनिक भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा गरिएको सुपरिवेक्षणपछि धितोपत्र बोर्डले तयार पारेको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ले भट्ट तथा उनीसँग सम्बन्धित नेटवर्कले धितोपत्र बजारमा कृत्रिम प्रभाव पार्ने, मूल्यमा उतारचढाव ल्याउने तथा जालसाजीपूर्ण कारोबार गरेको निष्कर्ष निकालेको छ।

प्रतिवेदनअनुसार दिपक भट्ट ले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी मार्फत वास्तविक रकम भुक्तानी नगरी ठूलो परिमाणमा शेयर खरिद–बिक्री गरेको पाइएको छ।

धितोपत्र व्यवसायीसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार कारोबार बैंकमार्फत गर्नुपर्ने तथा कम्तीमा २५ प्रतिशत अग्रिम रकम लिनुपर्ने प्रावधान रहेकोमा उक्त प्रावधानको उल्लङ्घन भएको देखिएको छ।

भट्टले शेयर खरिद गर्दा प्रत्यक्ष रकम भुक्तानी नगरी सम्बन्धित कम्पनीहरूबीचको देनदारी मिलानमार्फत कारोबार गरेको तथा यसरी गरिएको ‘उधारो कारोबार’ले बजारमा कृत्रिम माग सिर्जना गरी मूल्य वृद्धि गराएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी ले धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ अनुसार तोकिएको समयभित्र राफसाफ गरेको देखिए पनि विनियम १६ र १७ अनुसार खरिदकर्ताबाट रकम संकलन तथा विक्रीकर्तालाई भुक्तानी गर्ने कार्य नगरेको पाइएको छ।

यस कार्यले धितोपत्र व्यवसायी (दलाल तथा व्यापारी) नियमावली, २०६४ को उल्लङ्घन भएको प्रतिवेदनले औंल्याएको छ। भट्ट र ब्रोकिङ कम्पनीबीचको मिलेमतोमा नेपाल रिइन्स्योरेन्स कम्पनी को शेयर मूल्य वृद्धि गराउने उद्देश्य रहेको देखिएको उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार, भट्टले २०८२ साउन ५ देखि २०८२ चैत १ सम्म ३ अर्ब ८० करोड ५३ लाख ८३ हजार रुपैयाँ बराबरको धितोपत्र खरिद तथा ९३ करोड ५ लाख ९२ हजार रुपैयाँ बराबरको विक्री गरेका छन्। सो अवधिमा ब्रोकिङ कम्पनीले कुनै रकम नलिई हालसम्म २ अर्ब ८९ करोड २० लाख ४८ हजार रुपैयाँ बराबरको उधारो कायम रहेको देखिएको छ।

त्यसैगरी, भट्टसँग सम्बन्धित कम्पनीहरूबीच ‘इन्साइडर ट्रेडिङ’ भएको पनि पुष्टि भएको छ। इन्फिनिटी होल्डिङ्गस् मार्फत हिमालयन रिइन्स्योरेन्स बाट १,०८० रुपैयाँमा खरिद गरिएको ऋणपत्र सम्बन्धित अन्य कम्पनीहरूलाई १,१८५ रुपैयाँसम्ममा बिक्री गरिएको पाइएको छ।

उक्त कारोबारको विश्लेषण गर्दा वास्तविक स्वामित्वमा उल्लेखनीय परिवर्तन नभई मूल्य वृद्धि गराउने उद्देश्यले आपसी खरिद–बिक्री गरिएको देखिएको छ, जसलाई धितोपत्र सम्बन्धी ऐन बमोजिम झुठो कारोबार मानिने प्रतिवेदनमा उल्लेख छ।

जाँचबुझ अधिकृत रुपेश केसी द्वारा तयार गरिएको प्रतिवेदनले दिपक भट्ट, सन्दीप चाचान लगायतका व्यक्तिहरूले धितोपत्र सम्बन्धी ऐन, २०६३ का विभिन्न प्रावधान उल्लङ्घन गरेको ठहर गरेको छ।

प्रतिवेदनले दिपक भट्टलाई मुख्य आरोपित तथा सन्दीप चाचानलाई मुख्य मतियारको रूपमा उल्लेख गरेको छ। अन्य संलग्न व्यक्तिहरूमा शुभी अग्रवाल, ऋषि राज मोर र राज बहादुर शाह रहेका छन्। साथै, केही संस्थागत तहबाट समेत सहयोग भएको जनाइएको छ।

प्रतिवेदनले दोषी ठहरिएका व्यक्तिहरूलाई प्रचलित ऐनअनुसार जरिवाना, कैद सजाय तथा १० वर्षसम्म सार्वजनिक लिमिटेड कम्पनीको सञ्चालक बन्न नपाउने सजायको व्यवस्था कार्यान्वयन गर्न सिफारिस गरेको छ।

यस्तो छ पूर्णपाठः

CamScanner 18-04-2026 15

Leave A Reply

Your email address will not be published.