जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग
जेनजी मुभमेन्टको आरोप—“यो राजनीतिक होइन, गम्भीर आपराधिक हमला”
काठमाडौं, जेठ ५ —
जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य श्री कृष्णकुमार कार्की (मोरङ–२) लाई भदौ २४, २०८२ मा सिंहदरबार तथा संघीय संसद् भवन परिसरमा भएको आगजनी तथा तोडफोड घटनामा प्रत्यक्ष संलग्न रहेको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन सम्बन्धित निकायसमक्ष माग गरेको छ।
मुभमेन्टका प्रवक्ता श्री विजय शाहद्वारा जारी विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भिडियो तथा तस्बिरहरूका आधारमा उक्त घटनामा श्री कार्कीको संलग्नता देखिएको उल्लेख गरिएको छ। साथै, सम्बन्धित सामग्रीहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्दर्भसमेत विज्ञप्तिमा समेटिएको छ।
विज्ञप्तिमा उल्लेख गरिएको छ कि राज्यका प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको यस प्रकारको गतिविधि सामान्य राजनीतिक क्रियाकलाप नभई गम्भीर फौजदारी अपराधको श्रेणीमा पर्दछ।
यसैबीच, श्री कार्कीमाथि हालै एक विदेशी नागरिक (नाइजेरियन युवती) सँग सम्बन्धित व्यक्तिगत आरोपसमेत सार्वजनिक भएको तथा प्रतिनिधिसभा बैठकहरूमा बारम्बार अनुपस्थित रहने विषयले उनको सार्वजनिक जिम्मेवारीप्रति प्रश्न उठाएको विज्ञप्तिमा जनाइएको छ।

त्यसैगरी, सुधन गुरुङसम्बन्धी विषयमा अहिलेसम्म आवश्यक अनुसन्धान तथा कारबाही अगाडि नबढाइएकोप्रति पनि मुभमेन्टले ध्यानाकर्षण गराएको छ। विद्यमान कानुनी तथा अनुसन्धान निकायहरू सक्रिय हुँदाहुँदै थप समिति गठनको औचित्यमाथि प्रश्न उठाइएको छ।
जेनजी मुभमेन्ट नेपालले निम्न मागहरू अघि सारेको छः
१. श्री कृष्णकुमार कार्कीलाई तत्काल पक्राउ गरी प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइयोस्।
२. दोषी उन्मुक्ति तथा राजनीतिक संरक्षणको अन्त्य गर्दै विधिको शासन सुनिश्चित गरियोस्।
३. नाइजेरियन युवतीसँग सम्बन्धित आरोपबारे निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय सुनिश्चित गरियोस्।
मुभमेन्टले निष्पक्ष, पारदर्शी तथा प्रमाणमा आधारित अनुसन्धानमार्फत दोषीमाथि अविलम्ब कानुनी कारबाही गरिनुपर्नेमा जोड दिएको छ।