तिनपिप्लेमा डोजर अभियान : सार्वजनिक जग्गा कब्जामाथि तारकेश्वर नगरपालिकाको एक्सन

48

काठमाडौं, जेठ ६ —

तारकेश्वर नगरपालिका वडा नं. ३ अन्तर्गत तिनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू हटाइएको छ। नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण तथा व्यवस्थापन अभियानअन्तर्गत डोजर प्रयोग गरी उक्त संरचनाहरू हटाएको जनाएको छ।

नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटीको नेतृत्वमा सञ्चालन गरिएको अभियानमा दीर्घकालदेखि अतिक्रमणमा परेका सार्वजनिक स्थानहरू खाली गराइएको हो। नगरपालिकाका अनुसार सार्वजनिक जग्गामा अनधिकृत रूपमा व्यवसाय सञ्चालन हुँदा स्थानीय आवागमनमा अवरोध, वातावरणीय असर तथा क्षेत्रीय व्यवस्थापनमा समस्या उत्पन्न हुँदै आएको थियो।

उक्त समस्यालाई सम्बोधन गर्ने उद्देश्यले आज तिनपिप्ले क्षेत्रमा केन्द्रित भई डोजर अभियान सञ्चालन गरिएको जनाइएको छ। अभियानपछि क्षेत्रको सार्वजनिक स्थान पुनः प्रयोगयोग्य बनेको नगरपालिकाले जनाएको छ।

अतिक्रमण हटाइएपछि स्थानीयवासीहरूले नगरपालिकाको कदमप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। सार्वजनिक स्थान फिर्ता भएसँगै क्षेत्र थप व्यवस्थित, सुरक्षित र खुला बन्ने अपेक्षा गरिएको स्थानीयको भनाइ छ।

तारकेश्वर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि यस्ता अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने स्पष्ट पारेको छ।

Leave A Reply

Your email address will not be published.