चोलेन्द्रसँग ‘कनेक्सन’ देखिएका इनाम सापकोटा प्रहरी हेडक्वार्टरमा केरकार, ‘मलाई प्रयोग गरे’ भन्दै बयान

भट्ट–अग्रवालसँग चोलेन्द्रको सम्पर्क जोड्ने ‘पुल’ बनेको प्रहरीको प्रारम्भिक निष्कर्ष

10

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग निकट सम्पर्कमा रहेको भनिएका इनाम सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएर लामो समयसम्म सोधपुछ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा सापकोटाले जबरा र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षमा रहेका व्यवसायी दीपक भट्ट तथा सुलभ अग्रवालबीच सम्पर्क गराउने ‘पुल’को भूमिका खेलेको देखिएको प्रहरी स्रोतको दाबी छ।

बुधबार दिउँसो करिब साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली जान लागेका सापकोटालाई सादा पोसाकमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए। बुढानीलकण्ठका स्थायी बासिन्दा सापकोटा पानीपोखरीस्थित हाउजिङमा बस्दै आएका छन्।

प्रहरीले पूर्वप्रधानन्यायाधीश जबरालाई महाराजगञ्जबाट नियन्त्रणमा लिएपछि उनको मोबाइल तथा सम्पर्क विवरणमाथि समेत अनुसन्धान अघि बढाएको थियो। सो क्रममा सापकोटासँग जबराको बाक्लो सम्पर्क देखिएपछि प्रहरीको अनुसन्धान सापकोटातर्फ केन्द्रित भएको बताइएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत थापा र डीएसपी योगराज खतिवडाले जबराको मोबाइल विवरण परीक्षण गरेका थिए। करिब १२ घण्टा नियन्त्रणमा राखिएपछि जबरालाई छाड्ने क्रममा मोबाइल फिर्ता गरिएको थियो। त्यसपछि सापकोटासँगको सम्पर्कबारे थप अनुसन्धानका लागि विशेष ब्युरोले उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतको भनाइ छ।

प्रहरी प्रधान कार्यालयमा लगेर लामो समय सोधपुछ गरिएका सापकोटाले अनुसन्धानका क्रममा ‘चोलेन्द्रले मलाई प्रयोग गरे’ भनेको प्रहरीका एक उच्च अधिकृतले बताएका छन्।

भट्टसँग फोन सम्पर्क, ह्वाट्सएपमा रकमको विवरण

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सापकोटा र नक्खु कारागारमा रहेका दीपक भट्टबीच फोन सम्पर्क भएको विवरण फेला परेको दाबी गरिएको छ। भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित विषयमा जबरासम्म सूचना तथा सम्पर्क पुर्‍याउने काममा सापकोटाको भूमिका रहेको हुनसक्ने प्रहरीको आशंका छ।

यस्तै, सापकोटा र जबराबीच ह्वाट्सएपमार्फत समेत कुराकानी हुने गरेको विवरण प्रहरीले फेला पारेको बताइएको छ।

सापकोटाको ह्वाट्सएपमा रकमसम्बन्धी केही कारोबारका विवरणसमेत भेटिएको प्रहरी स्रोतको दाबी छ। उनले आफ्ना एक सहकर्मीलाई पठाएको सन्देशमा ‘५० लाख रकम आएको छ’ भन्ने उल्लेख रहेको बताइएको छ।

तर, अहिलेसम्म सापकोटाले जबराको बैंक खातामा रकम पठाएको प्रत्यक्ष प्रमाण भने फेला नपरेको प्रहरी स्रोतले जनाएको छ।

‘डिल’ मिलाउन सापकोटा प्रयोग भएको आशंका

प्रहरी स्रोतका अनुसार जबराले भनेअनुसार सापकोटाले ‘बिचौलिया’को भूमिका निर्वाह गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। विशेषगरी दीपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित मुद्दाको विषयमा उनीमार्फत सम्पर्क तथा कुराकानी भएको हुनसक्ने प्रहरीको आशंका छ।

भट्ट कारागारमा रहेका बेला सापकोटासँग फोन सम्पर्क भएको विवरण पनि अनुसन्धानकर्ताले फेला पारेको दाबी गरिएको छ। भट्ट र अग्रवालसँग सम्बन्धित विषयमा जबराका छोराको समेत संलग्नता देखिएको प्रहरी स्रोतको भनाइ छ। यद्यपि, यसबारे अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ।

लामो समय सोधपुछ तथा मोबाइल विवरणको अध्ययन गरेपछि विशेष ब्युरोले सापकोटालाई छाडेको छ।

जबरा छुटे पनि अनुसन्धान रोकिएन

२०७५ पुस १८ गते प्रधानन्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए।

महाराजगञ्जबाट नियन्त्रणमा लिएर असोज ११ गते बिहान उनलाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगिएको थियो। प्रहरीले उनलाई सुरक्षा चुनौतीका कारण नियन्त्रणमा लिएको बताउँदै आएको छ।

तर, जबरालाई नियन्त्रणमुक्त गरिएपछि पनि उनीसँग जोडिएका व्यक्ति, सम्पर्क र आर्थिक कारोबारबारे अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार जबरासँग सम्बन्धित विषयमा थप तथ्य संकलन गर्ने काम भइरहेको छ।

Leave A Reply

Your email address will not be published.