ककनीका बाढीपीडित परिवारलाई ३ लाख १५ हजार नगद सहयोग

139

नुवाकोट,ककनी –  विपत्तिले घर उजाडेको छ, आफन्त खोसेको छ, कतिपय परिवारलाई मृत्युको पीडा त कतिपयलाई बेपत्ता आफन्त फर्किने आशामा छटपटिन बाध्य बनाएको छ। यस्तो पीडाको घडीमा विदेशमा रहेर पनि जन्मभूमि सम्झने हातहरू सहयोगका लागि अघि बढेका छन्।

भदौ १० गते त्रिशूली–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको ककनी गाउँपालिकाका सात परिवारलाई कुल ३ लाख १५ हजार रुपैयाँ नगद राहत सहयोग हस्तान्तरण गरिएको छ।

ककनी गाउँपालिका–२ का स्थानीय देवराज घिमिरेको विशेष पहलमा अस्ट्रेलियास्थित उहाँ कार्यरत संस्था अस्ट्रेलियन भेन्यु कम्पनी (Australian Venue Company) बाट संकलित सहयोग रकम पीडित परिवारसम्म पुर्‍याइएको हो। प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले प्रदान गरिएको उक्त रकम घिमिरेकी आमा चन्द्रावती घिमिरेले गाउँपालिका अध्यक्ष सुमन तामाङ ‘सज्जन’, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र पौडेल तथा सम्बन्धित वडाध्यक्षहरूको रोहवरमा हस्तान्तरण गर्नुभएको हो।

राहत वितरण कार्यक्रममा अस्ट्रेलियामा रहनुभएका देवराज घिमिरेलाई भिडियो कलमार्फत प्रत्यक्ष सहभागी गराइएको थियो। भौगोलिक दूरीले टाढा बनाए पनि जन्मभूमिको दुःखले नजिक बनाएको यो सहयोगले विपत्तिमा मानवीय संवेदनाको महत्व उजागर गरेको छ।

सहयोग प्राप्त गर्नेहरूमा वडा नम्बर १ का अर्जुन बलामी, वडा नम्बर २ का संयम रुम्बा, आशिक घिमिरे र कुमार तामाङ, वडा नम्बर ३ का विकास तामाङ तथा वडा नम्बर ६ का दीपकबहादुर लामा र सुजन तामाङ रहेका छन्।

गाउँपालिका अध्यक्ष तामाङले विपत्तिको समयमा विदेशमा रहेर पनि जन्मभूमिका पीडित परिवारका लागि राहत जुटाउने देवराज घिमिरे र सहयोग गर्ने अस्ट्रेलियन भेन्यु कम्पनीका सम्पूर्ण दाताहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस्तो मानवीय सहयोगले विपत्तिबाट प्रभावित परिवारको दैनिक जीवनमा राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

पीडामा साथ दिने हात नै वास्तविक मानवता

प्राकृतिक विपत्तिले पुर्‍याएको क्षति पैसाले पूर्ति गर्न सक्दैन। मृत्यु भएका आफन्त फर्काउन सकिँदैन, बेपत्ता भएकाको पीडा शब्दले मेटाउन सकिँदैन। तर, दुःखको समयमा कसैले दिएको साथले पीडित परिवारलाई फेरि उठ्ने साहस अवश्य दिन सक्छ।

विदेशमा पसिना बगाएर पनि आफ्नै गाउँका पीडितलाई सम्झनु केवल आर्थिक सहयोग होइन, जन्मभूमिप्रतिको माया, सामाजिक उत्तरदायित्व र मानवीयताको जीवन्त उदाहरण हो।

विपत्तिमा भाषणभन्दा सहयोग, आश्वासनभन्दा साथ र औपचारिकताभन्दा मानवीय संवेदना महत्वपूर्ण हुन्छ। ककनीका पीडित परिवारलाई प्रदान गरिएको यो सहयोगले समाजमा अझै पनि दुःख बाँड्ने र पीडामा साथ दिने मनहरू जीवित छन् भन्ने सन्देश दिएको छ।

— ककनी मिडिया | सत्य तथ्य समाचारको लागि हर पल, हर क्षण तपाईँकै साथमा।

Leave A Reply

Your email address will not be published.