चक्रवात ‘अर्नब’को सम्भावित प्रभाव: नेपालमा उच्च सतर्कता, तीन दिन पदयात्रा नगर्न आग्रह
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै नेपालमा उच्च सतर्कता अपनाइएको छ। बिहीबारदेखि शनिबारसम्म वर्षा, भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमानपछि सरकारले सम्बन्धित निकाय र सुरक्षा अंगलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कात्तिक १२ गते बिहीबार रातिदेखि चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा देखिन सक्नेछ। शुक्रबार र शनिबार कोशीदेखि सुदूरपश्चिमसम्मका विभिन्न क्षेत्रमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ। केही स्थानमा भारी वर्षा वा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
सम्भावित प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायात प्रभावित हुनुका साथै पहाडी र हिमाली क्षेत्रमा हिमपहिरो, बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
तीन दिन पदयात्रामा रोक
मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै अध्यागमन विभागले कात्तिक १२, १३ र १४ गते पदयात्रामा नजान आग्रह गरेको छ। यसअघि नै पदयात्रामा रहेका पर्यटक तथा पर्वतारोहीलाई पनि सुरक्षित स्थानमा बस्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न भनिएको छ।
विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा मौसमको आधिकारिक सूचना नियमित रूपमा हेर्न आग्रह गरिएको छ।
सुरक्षित रहन प्राधिकरणको आग्रह
सम्भावित जोखिमबाट बच्न नदीकिनार, बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रबाट टाढा रहन, अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासनले जारी गरेका सूचनालाई बेवास्ता नगर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।
मौसमसम्बन्धी जानकारीका लागि ११५५, नेपाल प्रहरीका लागि १००, सशस्त्र प्रहरी बलका लागि १११४, पर्यटक प्रहरीका लागि ११४४ तथा राष्ट्रिय तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
चक्रवातको प्रभाव प्रत्यक्ष रूपमा नेपालमा नपरे पनि यसको अप्रत्यक्ष असरले मौसममा परिवर्तन ल्याउन सक्ने भएकाले नागरिकलाई सतर्क रहन र आधिकारिक पूर्वानुमानका आधारमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
