डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त
नुवाकोट-
नुवाकोटबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा निर्वाचित डा. विक्रम तिमिल्सिना अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा छन्। रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् गठनको क्रममा उनलाई सिफारिस गरेका थिए भने राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा मन्त्री नियुक्त गरेका छन्। उनका सपथग्रहण प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसँगै हुने तय भएको छ।

नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित तिमिल्सिनालाई मतदाताले दिएको विश्वास अब राष्ट्रिय जिम्मेवारीमा रूपान्तरण भएको छ। उनका मन्त्री पदमा पुग्नु केवल व्यक्तिगत उपलब्धि होइन, नुवाकोटको प्रतिनिधित्व र पहिचानको रूपमा पनि हेरिएको छ। यसले स्थानीय मुद्दा, विकासका अपेक्षा र जनचासोका विषयहरू केन्द्र सरकारको निर्णय प्रक्रियामा प्रभावकारी रूपमा उठाउने सम्भावना बढाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई वर्तमान सन्दर्भमा संवेदनशील र प्रभावशाली मन्त्रालय मानिन्छ। डिजिटल पूर्वाधार विस्तार, सूचना प्रवाहमा पारदर्शिता, प्रविधिमा सर्वसुलभ पहुँच र सञ्चार क्षेत्रको सुधारमा मन्त्री तिमिल्सिनाको नेतृत्वको परीक्षा हुन बाँकी छ।
साथै, बालेन्द्र शाहसँगै हुने सपथग्रहणले रास्वपामा नयाँ ऊर्जा र नेतृत्व सरकारमा प्रवेश गरेको संकेत दिएको विश्लेषकहरूले बताएका छन्। यसले नयाँ राजनीतिक दृष्टिकोण, कार्यशैली र परिणाममुखी कामप्रति जनअपेक्षा थप बढाएको छ।
अब चासो केन्द्रित छ—डा. तिमिल्सिनाले सञ्चार तथा प्रविधि क्षेत्रमा कस्तो नीति र दिशा तय गर्छन्, र जनताले राखेको विश्वासलाई व्यवहारमा कसरी रूपान्तरण गर्छन्।