म्याद थपको सिफारिस भएका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित

15

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता आनन्दराज काफ्लेका अनुसार ‘सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीतको कार्य गरेको’ आरोपमा दाहाललाई निलम्बन गरिएको हो।

सशस्त्र प्रहरी बलबाट कारबाहीका लागि सिफारिस प्राप्त भएपछि मन्त्रालयले दाहाललाई निलम्बन गर्दै तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको जनाएको छ।

मन्त्रालयले दाहालले कुन संवेदनशील सूचना चुहावट गरेको भन्नेबारे भने खुलाएको छैन। तर, सशस्त्र प्रहरीका एक उच्च अधिकृतका अनुसार ११ असोजको बिहान अनुमति नलिई पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको आरोप उनीमाथि छ।

जबरालाई सुरक्षा चुनौती रहेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले मध्यराति उनको निवासबाट प्रहरी कार्यालय ल्याएको थियो। त्यसपछि जबराका नातेदारसमेत रहेका दाहाल उनलाई भेट्न प्रहरी कार्यालय पुगेको सशस्त्र प्रहरीका उच्च अधिकारीहरूको दाबी छ।

यसैबीच, एआईजी दाहालको पदावधि थप गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गत बुधबार मात्रै गृह मन्त्रालयमा सिफारिस गरेको थियो। उनी आगामी २७ असोजमा चार वर्षे पदावधि पूरा गरी अवकाशमा जाने तयारीमा थिए।

सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सरकारले एआईजी र डीआईजीको चार वर्षे पदावधि पूरा भएपछि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार यसअघि अधिकांश एआईजी तथा डीआईजीको पदावधि थप हुँदै आएको थियो।

Leave A Reply

Your email address will not be published.